दफा १९
कर्मचारी नियुक्त गर्न वा तोक्न सक्ने
(१) आयोगले मतदाता नामावली तयार गर्नका लागि आवश्यक सङ्ख्यामा प्रमुख नाम दर्ता अधिकारी, नाम दर्ता अधिकारी, सहायक नाम दर्ता अधिकारी, मतदाता नामावली सङ्कलनकर्ता र निर्वाचनको कामका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान
अधिकृत लगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरी त्यस्ता पदमा आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(२) आयोगले उपदफा (१) बमोजिमको कार्य सम्पादन गर्नका लागि सम्बन्धित अधिकारीलाई सहयोग पुर्याउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहका कर्मचारी वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी वा विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीलाई खटाउन वा काममा लगाउन सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निर्वाचनको काममा संलग्न शिक्षक वा कर्मचारी निर्वाचनको काम सम्पन्न नहुञ्जेलसम्म आयोगको कर्मचारी मानिनेछ ।
(४) निर्वाचनको काममा खटाएको वा लगाएको कर्मचारीलाई आयोगको स्वीकृति बिना सरुवा गर्न वा काज खटाउन पाइने छैन ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निर्वाचन अवधिभर आयोगको स्वीकृति बिना कुनै पनि कर्मचारी सरुवा गर्न वा काज खटाउन पाइने छैन ।